२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सतीले सरापेको देश: भीम मल्लको हत्या र ४०० वर्ष पुरानो त्यो भयानक श्राप

प्रकाश काफ्ले / काठमाडौं । नेपालको इतिहासमा भीम मल्लको हत्या र उनकी पत्नीले दिएको श्राप एउटा अत्यन्तै मार्मिक र विझाउने अध्याय हो। करिब ४०० वर्ष अगाडि राजा प्रताप मल्लको शासनकालमा काठमाडौँका काजी भीम मल्ल एक कुशल प्रशासक र कूटनीतिज्ञका रूपमा चिनिन्थे। उनी नेपालको आर्थिक समुन्नतिको ठूलो सपना बोकेर तिब्बत प्रस्थान गरेका थिए। त्यो समयमा तिब्बतसँग व्यापार गर्नु चुनौतीपूर्ण भए तापनि उनले आफ्नो बुद्धिमत्ताले त्यहाँका शासकहरूलाई प्रभाव पारेर २२ वटा व्यापारिक कोठीहरू स्थापना गर्न सफल भए। उनले गरेको ऐतिहासिक सम्झौताका कारण नेपाली व्यापारीहरूले तिब्बतबाट सुनको असर्फी र धनदौलत सहजै ल्याउने बाटो खुल्यो। जब उनी ठूलो मात्रामा सुन र उपहारहरू खच्चडमा बोकाएर काठमाडौँ फर्किए, उनलाई देशको ‘कुबेर’ को रूपमा सम्मान गरिनुपर्ने थियो। तर, उनको यो अकल्पनीय सफलता नै उनका लागि काल बन्यो।

दरबारका ईर्ष्यालु भारदारहरूले भीम मल्लको लोकप्रियता सहन सकेनन् र राजा प्रताप मल्लको कान भर्न सुरु गरे। उनीहरूले राजालाई भ्रममा पार्दै भीम मल्लले तिब्बतबाट सुन मात्र होइन, सैन्य शक्ति पनि जुटाएर ल्याएको र उनको वास्तविक योजना राजालाई पदच्युत गरी आफैँ सत्ता कब्जा गर्ने रहेको मिथ्या आरोप लगाए। कलाप्रेमी तर संकालु स्वभावका राजा प्रताप मल्लले सत्यको गहिराइ नबुझी आफ्ना सबैभन्दा सफल काजीलाई सिध्याउने क्रुर योजना बुने। आफ्नो स्वामीप्रति पूर्ण बफादार भीम मल्लले राजालाई विजयको उपहार चढाउन र दर्शन भेट गर्न दरबार प्रवेश गर्दा, त्यहाँ कसाईहरू तरबार र खुकुरी लिएर उनलाई काट्न तम्तयार छन् भन्ने कुराको पत्तो समेत पाएनन्। दरबारको ढोकाभित्र पस्नेबित्तिकै उनीमाथि निर्मम प्रहार गरियो। भनिन्छ, भीम मल्लको निष्ठा यति अटल थियो कि उनको गर्दन काटिएर भुइँमा खस्दा पनि उनको शरीर केही बेर अझै उभिएको थियो।

यो विभत्स दृश्यले पूरै दरबार र सहर स्तब्ध भयो। आफ्ना निर्दोष पतिको बीभत्स हत्या भएको खबर पाएपछि उनकी पत्नी विलाप गर्दै दरबार पुगिन्। तत्कालीन सामाजिक चलन अनुसार उनी सती जानुपर्ने थियो, तर चितामा जल्नुअघि उनले आँसु र आक्रोशका साथ एउटा भयानक श्राप दिइन्। उनले भनेकी थिइन्, “यो देशको भलाई सोच्ने र राम्रो काम गर्ने कसैको पनि कहिल्यै भलो नहोस्।” यही श्रापका कारण आजसम्म पनि नेपाली समाजमा ‘सतीले सरापेको देश’ भन्ने उखान प्रचलित छ, जसले देशको लागि इमानदारीपूर्वक काम गर्नेहरूले सधैँ धोका वा दुःख पाउँछन् भन्ने दुःखद मान्यतालाई दर्शाउँछ। पछि भीम मल्ल निर्दोष रहेको प्रमाणित भएपछि राजा प्रताप मल्ललाई गहिरो पश्चाताप भयो र उनले सो पापमोचनका लागि विभिन्न धार्मिक कार्य र पूजापाठ समेत गरेका थिए।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस