२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ड्युटीमा रहेका इन्स्पेक्टरलाई बन्चरो हान्ने तीन जना ब्राउनसुगरसहित पक्राउ

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु छन्।

उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे. ४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरूलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले बञ्चरोले हानेका थिए।

लुकाइछिपाई ल्याएको बन्चरो अचानक प्रहार गर्दा घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचारपश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ। मोटरसाइकलका चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

बाटोमा चेकिङ ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार

 

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस