काठमाडौं । धादिङमा महादेव मन्दिरका लागि पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्। गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदामघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
बा.प्र ०१–००४ क ३३५२ नं।को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा गुजुरी–६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो।
दुर्घटनामा गजुरी गाउँपालिका–६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

