२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

कुलमानले नसकेको काम हितेन्द्रले गरेर देखाए, अब सबैतिर २४ सै घन्टा बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउँदै अब सबै ग्राहकलाई २४ घण्टा विद्युत् आपूर्ति गर्ने निर्णय गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो निर्णय सार्वजनिक गर्दै भने, ‘अब सबै प्रकारका ग्राहकलाई कुनै प्रकारको लोडसेडिङ बिना २४ घण्टा विद्युत् आपूर्ति गरिने छ।’

यसअघि, कुलमान घिसिङको नेतृत्वमा विद्युत् आपूर्तिको सुधारका प्रयास भए पनि भारतसँगको विद्युत् आयातमा सीमितता र अघोषित लोडसेडिङका कारण पूर्ण रूपमा लोडसेडिङ हटाउन सकिएको थिएन। भारतले १५ मार्चदेखि बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै विद्युत् आयात गर्न दिने निर्णय गरेपछि, प्राधिकरणलाई दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने अवस्था आएको थियो।

हाल, औद्योगिक लोडसेडिङ हटाएर २४ घण्टा विद्युत् आपूर्ति गर्ने निर्णयले उद्योगधन्दामा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ। यद्यपि, पिक आवर अर्थात् बेलुका पाँच बजेदेखि राति साढे १० बजेसम्म उद्योगहरूलाई ‘लाइट लोड’मा विद्युत् उपभोग गर्न अनुरोध गरिएको छ। यस समयावधिमा उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा नआइ, केवल अत्यावश्यक मेसिनहरूको प्रयोग गर्न भनिएको छ।

भारतले हाल नेपाललाई विद्युत् आयात अवधि थपेर १ अप्रिलदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ। यस निर्णयले नेपालमा जलाशयका जलस्तर बढ्न थालेका कारण उत्पादन बढ्ने र आगामी दिनहरूमा विद्युत् आपूर्तिमा थप सुधार आउने अपेक्षा गरिएको छ।

कुलमान घिसिङको नेतृत्वमा विद्युत् आपूर्ति सुधारका लागि गरेका प्रयासलाई शाक्यले निरन्तरता दिएका छन्, र अब २४ घण्टा विद्युत् आपूर्ति प्रणालीले नयाँ युगको शुरुआत गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस