२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

पाँच महिनापछि सरकारमाथि खनिए रवि, जुनसुकै परिस्थितिसँग जुध्न तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आफूमाथि निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका उनले समर्थकहरूलाई सम्बोधन गर्दै पाँच महिनाअघि झुठा मुद्दा लगाएर पक्राउ गरिएको स्मरण गराउँदै षड्यन्त्र अझै जारी रहेको बताएका हुन्।

‘सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर उठाएर लगेको थियो। तर षड्यन्त्रको सिलसिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु।’

उनले कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि संसद्मा बलियो सरकार बन्ने सम्भावना समाप्त भएको आरोप लगाए। ‘राम्रो गर्न होइन, आफूलाई बचाउन सरकार बनाएका हुन्,’ उनले भने।

सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह लगाउने प्रयास गरे पनि आफू नझुक्ने उनको भनाइ छ। ‘म जुनसुकै परिस्थितिसँग जुध्न तयार छु। सरकारले मेरो शीरमाथि राखेको तरबार खसालोस्, म लड्न तयार छु,’ उनले भने, ‘लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने मान्छे म होइन।’

उनले जनतामा आक्रोश बढ्दै गएको बताउँदै परिवर्तन अपरिहार्य भएको उल्लेख गरे। ‘हामीले घण्टी बजायौँ। २१ सांसद संसदमा पठायौँ, तर यिनीहरूले चेतेनन्,’ उनले थपे।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस