काठमाडौं । तीनकुनेमा प्रहरीको गोली लागेर मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिएका छन्।
पूर्वराजा समर्थकहरूको प्रदर्शनमा महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ। शिक्षण अस्पतालका स्रोतका अनुसार महर्जनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ। प्रहरी अधिकृतका अनुसार महर्जनलाई तीनकुनेबाट कोटेश्वर चोक जाने उकालोमा गोली लागेको हो।
२९ वर्षीय महर्जन दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए। चैत १५ को प्रदर्शनमा तनाव बढेपछि प्रहरीले गोली चलाएको थियो।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

