काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशका सरकारी तर्फबाट संस्कृति र पर्यटन क्षेत्रमा दुई वटा र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो। यो सम्झौताले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा राजनीतिक सम्बन्ध, व्यापार, आर्थिक सहकार्य, उड्डयन, पर्यटन, संस्कृति, विकास सहायता र क्षेत्रीय–बहुपक्षीय मुद्दाहरूमा छलफल भएको थियो।
सरकारी तर्फबाट नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र थाइल्यान्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे। त्यस्तै, परराष्ट्रमन्त्री देउवा र थाइल्यान्डका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरे।
गैरसरकारी क्षेत्रतर्फ नेपाल नेत्र ज्योति सङ्घ र थाइल्यान्डको रामाथिवोदी अस्पतालबीच स्वास्थ्य सहकार्य, जनता एग्रो एन्ड फरेस्ट्री नेपाल र कासेटसार्ट विश्वविद्यालयबीच कृषि सहकार्य, नेपाल उद्योग वाणिज्य महासङ्घ र थाइल्यान्डको व्यापार बोर्डबीच व्यापारिक सहकार्य, काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच शैक्षिक सहकार्य, नेपाल उद्योग परिसङ्घ र थाइ उद्योग महासङ्घबीच औद्योगिक सहकार्य, तथा नेपाल चेम्बर अफ कमर्स र थाइल्यान्ड पर्यटन परिषदबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यी सम्झौताले दुई देशबीच व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा र संस्कृतिको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ। रासस

