२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

भ्रम र मिथ्या सूचनाबाट जनतालाई जोगाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्णः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सञ्चारमाध्यमको मुख्य जिम्मेवारी भ्रम, मिथ्या र संशयपूर्ण सामग्रीबाट जनतालाई भ्रमित हुन नदिनु रहेको बताएका छन्। रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित हीरक महोत्सवमा बोल्दै उनले प्रविधिको दुरुपयोग रोक्न र जनतालाई सुसूचित राख्न सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।

उनले इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिता बलियो बनेको बताए। विपद् र महामारीका बेला रेडियोको विशेष महत्त्व रहेको उनको भनाइ छ। आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको स्मरण गर्दै उनले साढे सात दशकको यात्रामा रेडियोले विभिन्न जातजाति र भाषाभाषीको आवाज बनेर समावेशी भूमिका खेलेको बताए।

लोकतन्त्र आएपछि सञ्चारमाध्यमको विकासले गति लिएको उल्लेख गर्दै उनले स्वतन्त्र र स्वायत्त सार्वजनिक प्रसारण सेवाको मर्मअनुरूप रेडियो नेपालले स्वच्छ, निष्पक्ष र जनउत्तरदायी पत्रकारिता गर्नुपर्ने चुनौती रहेको औँल्याए। ‘लोकतान्त्रिक मूल्य, स्वतन्त्र व्यावसायिक पत्रकारिता र नागरिकको सुसूचित हुने हकलाई आत्मसात् गर्न रेडियो नेपाल सफल हुनेमा म ढुक्क छु,’ उनले भने।

रेडियो नेपालका समाचार, जनचेतना र मनोरञ्जनात्मक कार्यक्रमले आफ्नो पुस्तामा मिठो सम्झना छोडेको बताउँदै उनले सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको उल्लेख गरे। सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको विस्तारसँगै प्रविधिको दुरुपयोगबाट जोगाउन जिम्मेवार सञ्चारमाध्यमको दायित्व बढेको उनको भनाइ छ।

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको स्मरण गराउँदै उनले राजनीतिक परिवर्तनमा पत्रकारिताको योगदान ठूलो रहेको बताए। ‘सञ्चारमाध्यमले आफ्नो गम्भीर जिम्मेवारी बुझेर जनताको हक र समावेशी समाजको संरक्षणमा योगदान दिनुपर्छ,’ उनले थपे।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस