काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकले रजकको मृत्यु जलेर भएको पुष्टि गरेका छन्।
चिकित्सकका अनुसार, ‘रजकको शरीरमा गोली भेटिएन, मृत्युको कारण जलेर भएको हो। बाहिर मारेर जलाएको भन्ने हल्ला पोस्टमार्टम रिपोर्टमा देखिएन। श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको पाइयो, जसले आगो लाग्दा उहाँ जीवित रहेको पुष्टि हुन्छ।’
मृतकको एक्स–रे मङ्गलबार साँझ गरिएको थियो भने बुधबार पोस्टमार्टम भएको हो। गोली लागेको हल्ला फैलिएपछि एक्स–रे नगरी पोस्टमार्टम नगर्ने चिकित्सकको अडानले प्रक्रियामा ढिलाइ भएको थियो। केही मिडिया र सामाजिक सञ्जालमा रजकलाई गोली लागेको दाबी गरिएको थियो, तर पोस्टमार्टमले त्यसलाई खण्डन गरेको छ।
अहिले रजकको शव परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। परिवारले केही समयमै शव लैजाने चिकित्सकले बताए।

