काठमाडौं । दुबईबाट ल्यापटप र मोबाइल तस्करी गरेको आरोपमा काठमाडौंमा पसल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङका रसिद आलम, महोत्तरीका राकेश गिरी, पाल्पाका ताराबहादुर रेस्मीमगर, पाँचथरकी कमला फिया, मकवानपुरका चित्रबहादुर मल्ल ठकुरी र हुकुमबहादुर मल्ल तथा उदयपुरका सुमित केसी छन्।
प्रहरीका अनुसार यात्रुहरूको नाममा १/१ थान ल्यापटप र मोबाइल मगाई भन्सार छली गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन्।
गौशाला बत्तिसपुतलीबाट पक्राउ परेका ३ जना यात्रुहरूसँगै तस्करी गरिएका सामान लिन आएका थप ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
न्युरोडस्थित एलिटेड सप्लायर्स प्रालि सञ्चालन गर्ने रसिद आलमको पसलबाट बिलबिजकबिना राखिएका ६९ थान डेल ल्यापटप र २ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

