काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार विज्ञप्तिमार्फत शिक्षक समुदायसँग छलफल गर्नका लागि तयार रहेको बताएका छन्। उनले विद्यालय शिक्षा विधेयकको स्वीकृतिको पर्खाइमा रहेको पनि उल्लेख गरे।
यता, विद्यालय शिक्षा ऐन जारी गर्नको माग गर्दै शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा अनिश्चितकालीन प्रदर्शन सुरु गरेका छन्। यसअघि धर्ना र अनशन गरेका शिक्षकहरू माग सुनुवाइ नहुँदा सडकमा उत्रिएका हुन्। आन्दोलनलाई शान्तिपूर्ण बनाउने उद्देश्यले ८ सय स्वयंसेवक परिचालन गरिएको छ, यद्यपि ट्राफिक व्यवस्थापनमा समस्या आएको छ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले भने, “पहिले नै वार्तामा सहमति भइसकेको छ, अब वार्ता र सहमति आवश्यक छैन। ऐन मात्र जारी गरिदिनुहोस्, त्यसपछि हामी मन्त्रालय जान्छौं।”
शिक्षकहरूले लामो समयदेखि २०८० असोज ५ मा गरिएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन्, तर सरकारले हालै संसदको हिउँदे अधिवेशन अन्त्य गरेको कारण ऐन जारी गर्न सम्भव नभएको बताएको छ।

