काठमाडौं । सरकारलाई शिक्षक आन्दोलन सम्हाल्न गाह्रो भइरहेको बेला नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरूले पनि सरकारविरुद्ध सडकमा उत्रेका छन्।
सरकारको तोकिएको न्यूनतम पारिश्रमिक नदिएको र श्रम शोषण गरिएको आरोप लगाउँदै, उनीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
आइतबार माइतिघरमा धर्ना दिँदै आवासीय डाक्टरहरूले सरकारको निर्णय कार्यान्वयन नगरी श्रम शोषण नगर्न आह्वान गरेका थिए।
आवासीय डाक्टरहरूले ‘स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर’, ‘चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय लागू गर’, ‘आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर’ र ‘आयोगको निर्णय नमान्ने मेडिकल कलेजको समन्धन खारेज गर’ भन्ने प्लेकार्डका साथ प्रदर्शन गरेका थिए।
नेपाल मेडिकल कलेजका आवासीय डाक्टर राजु चौधरीले सरकारको निर्णय अनुसार तलब ४८ हजार दिनुपर्नेमा आफ़ुलाई मात्र १९ हजार ८ सय रुपैयाँ दिइएकोले आफूहरूलाई श्रम शोषण भएको बताए। उनले सरकारले तोकेको निर्णय तुरुन्त लागू गर्नुपर्ने र आफूहरूलाई उचित पारिश्रमिक दिनुपर्ने धारणा राखे।

