काठमाडौं । काठमाडौं महानगरपालिकामा चैत २१ गते भएको अनुशासनहीन, अमर्यादित र अनपेक्षित घटनाको विरोधमा स्थानीय तहमा क्रियाशील पेसागत संगठनहरूले दोषीमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्। उनीहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न आग्रह गरेका छन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाइएको ज्ञापनपत्रमा उक्त दिन अनुशासन विपरीत कार्यमा संलग्न महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न माग गरिएको छ।
साथै, सो घटनापछि बालेन शाहका स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले उपप्रमुख र वडाध्यक्षहरूलाई लाञ्छित गर्ने गरी सञ्चारमाध्यम प्रयोग गरिएको भन्दै स्वकीय सचिव भूपदेव शाहलाई समेत कारबाही गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा प्रमुख प्रशासकीय अधिकृतमाथि प्रहरीद्वारा गरिएको अवरोध, धरपकड र प्रहरी प्रमुखका अभद्र अभिव्यक्तिहरूलाई भर्त्सनीय र दण्डनीय ठहर गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न भनिएको छ। त्यस्तै, वडाध्यक्षहरूको अभिव्यक्ति काटछाँट गरेर मिडियामा सार्वजनिक गरिएको विषयको पनि अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
पेसागत संगठनहरूले नेतृत्वविहीनताको कारण प्रशासन अस्तव्यस्त भएको र करिब ५ हजार कर्मचारीको दैनिकी प्रभावित भएको बताएका छन्।




