काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने ४६ वर्षीय मनोज सापकोटा सिरहा मिर्चैया–६ घर भई हाल भक्तपुर लोकन्थली बसोबास गर्दै आएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार, उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ।
सापकोटा शिवसेना नेपालको मजदुर विभाग प्रमुख तथा वीर गोर्खाली मिडिया प्रालिका सञ्चालक समेत रहेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
उक्त आन्दोलनमा आगजनी, तोडफोड र दुई जनाको ज्यान गएको थियो। घटनापछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल शमशेर राणा लगायत ७५ भन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन्। आन्दोलनका मुख्य नाइके भनिएका दुर्गा प्रसाईं भने अझै फरार छन्।

