काठमाडौं । भारत उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री तथा बहुजन समाज पार्टी (बसपा) प्रमुख मायावतीकी भतिजीमाथि ससुराली पक्षबाट बच्चा जन्माउनका लागि जेठाजुसँग सम्बन्ध राख्न दबाब दिइएको खुलासा भएको छ।
पीडित महिलाले आफ्नो श्रीमान नपुंसक भएको भन्दै जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब दिइएको र बलात्कार प्रयाससमेत भएको भन्दै ससुरालीका सात जना सदस्यविरुद्ध मुद्दा दायर गरेकी हुन्। यो आरोपसँगै मायावतीको पारिवारिक सञ्जालमा एक गम्भीर प्रश्न उठेको छ।
पीडितको विवाह २०२३ नोभेम्बर ९ मा हापुर कोतवाली क्षेत्रको बैंक कोलोनी निवासी विशालसँग भएको थियो। सासु पुष्पा देवी हाल हापुर नगर परिषद् अध्यक्ष हुन् भने ससुरा श्रीपाल सिंह बसपा नेताका रूपमा चिनिन्छन्।
विवाहपछि केही महिनामै पीडितमाथि थप दाइजोको माग गर्दै मानसिक र शारीरिक हिंसा थालिएको थियो। उनीहरूबाट फ्ल्याट र ५० लाख रुपैयाँको माग गरिएको आरोप पनि उजुरीमा उल्लेख छ। मायावतीबाट नै ती सम्पत्ति ल्याउन पीडितमाथि दवाव दिइएको भनिएको छ।
पीडितका अनुसार, उनका श्रीमानले शारीरिक सुगठनका लागि स्टेरोइड इन्जेक्सन लिएका कारण नपुंसक भएका हुन् र त्यसपछि उनी अलग बस्न थाले। त्यसैपछि ससुरा र जेठाजुले बच्चा जन्माउने बहानामा उनीमाथि मानसिक यातना दिन थाले र फेब्रुअरी १७ मा जेठाजु भूपेन्द्र उर्फ मोनु र ससुरा श्रीपालले मिलेर उनलाई निर्घात कुटपिट गरे र बलात्कारको प्रयाससमेत गरे।
१८ मार्चमा आफन्तहरूलाई सबै कुरा बताएपछि उनी प्रहरी चौकी गइन् तर रिपोर्ट दर्ता भएन। मार्च २१ मा एसपी समक्ष उजुरी दिँदा पनि सुनुवाइ नभएपछि उनले अदालतको सहारा लिइन्। अदालतको आदेशपछि मात्रै मुद्दा दर्ता भएको हो र हाल पीडितको उजुरीअनुसार श्रीमानसहित ७ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।

