२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

पाकिस्तानसँगको द्वन्द्वमा लडाकू विमान गुमाएको भारतद्वारा स्वीकार

काठमाडौं । भारतीय रक्षा प्रमुख (सीडीएस) जनरल अनिल चौहानले पाकिस्तानसँगको हालैको द्वन्द्वमा केही लडाकू विमान गुमाएको कुरा स्वीकार गरेका छन्। सिंगापुरमा आयोजित शाङ्ग्री-ला डायलगमा ब्लूमबर्ग टिभीलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन्। तर पाकिस्तानको दाबी अनुसार चार राफेलसहित छ वटा भारतीय विमान खसालिएको कुरालाई उनले ‘पूर्ण रूपमा गलत’ भनेर खण्डन गरेका छन्।

जनरल चौहानले सात मेमा द्वन्द्वको प्रारम्भिक चरणमा भारतले केही विमान गुमाएको पुष्टि गरेका हुन्। तर गुमाएका विमानको संख्याभन्दा किन र कसरी ती खसालिए भन्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाई रहेको थियो। उनले भने, ‘विमान खसालिनु महत्त्वपूर्ण होइन, बरु किन खसालिए, के गल्तीहरू भए त्यो मूल कुरा हो। संख्या महत्त्वपूर्ण छैन।’ उनले भारतीय सेनाले दुई दिनभित्र सामरिक गल्तीहरू पहिचान गरी सुधार गरेको र मे ८ र १० मा पाकिस्तानी हवाई अड्डाहरूमा सटीक हमलाहरू गरेको जानकारी दिए।

भारतीय विमानहरूले ब्रह्मोस मिसाइलको प्रयोग गरी चिनियाँ आपूर्तिको हवाई रक्षा प्रणालीलाई छल्दै ३०० किलोमिटर पाकिस्तानी भूभागमा प्रवेश गरी ११ वटा हवाई अड्डाहरूमा हमला गरेको उनले बताए। यो द्वन्द्व २२ अप्रिलमा जम्मु र कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबाट सुरु भएको थियो। सो घटनामा २६ सर्वसाधारणको ज्यान गएको थियो।

भारतले पाकिस्तानमा आतंकवादी पूर्वाधारविरुद्ध अपरेसन सिन्दूर सुरु गरेको थियो। पाकिस्तानको जवाफी ड्रोन र मिसाइल हमलापछि अमेरिकाको दबाबमा १० मेमा युद्धविराम भएको थियो। जनरल चौहानले आणविक तनावको सम्भावनालाई अस्वीकार गर्दै परम्परागत सैन्य कारबाही र आणविक सीमाबीच ूधेरै ठाउूँ रहेको र खुला संचार च्यानलहरूले तनाव कम गर्न सहयोग गरेको बताए।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस