२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

१७ बालबालिकासहित १९ जनालाई बन्धक बनाउने युट्युबर प्रहरी इन्काउन्टरमा मारिए

मुम्बई। मुम्बईको पवईस्थित एक स्टुडियोमा बालबालिकालाई बन्धक बनाएका युट्युबर रोहित आर्या प्रहरी इन्काउन्टरमा मारिएका छन्।

स्थानीय समयअनुसार बिहीबार पौने २ बजे आर्याले १७ बालबालिका, एक ज्येष्ठ नागरिक र एक अन्य व्यक्तिसहित १९ जनालाई बन्धक बनाएका थिए। प्रहरी र विशेष कमाण्डोको टोलीले करिब एक घण्टा लामो अपरेसनपछि सबै बन्धकलाई सुरक्षित उद्धार गरेको थियो। गोली लागेर घाइते आरोपीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले घटनास्थलबाट एक एयर गन र केही रसायन बरामद गरेको छ। हालसम्म आर्याले बन्धक बनाउने उद्देश्य खुल्न सकेको छैन। प्रहरीले उनको मानसिक अवस्था अस्थिर रहेको जनाएको छ।

आर्याले अडिसनको नाममा १०० भन्दा बढी बालबालिकालाई स्टुडियोमा बोलाएका थिए। स्टुडियोको पहिलो तलामा अभिनय कक्षाहरू सञ्चालन भइरहेका थिए, जहाँ बालबालिकाहरू बन्धक बनाइएको थियो।

घटना भइरहेका बेला बालबालिकाहरू स्टुडियोका झ्यालबाट बाहिर हेरिरहेका थिए। समाचार सुनेर अभिभावकहरू पनि घटनास्थलमा पुगेका थिए। आरोपीको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा उनी ‘मलाई केही प्रश्न सोध्नु छ’ भन्छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस