प्रकाश काफ्ले/काठमाडौं — गण्डकी प्रदेशका पूर्वप्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) बुधबार कारागारबाट रिहा भएका छन्। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार उनले पाउनुपर्ने कैद सजाय पूरा गरेपछि रिहा गरिएको हो।

मनाङे २०६१ वैशाख ३१ गते मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ माथि तरबार प्रहार गरी हात काट्ने घटनामा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका थिए। उक्त घटनामा सर्वोच्च अदालतले उनलाई ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। लामो कानुनी प्रक्रियापछि २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। यो फैसला यसअघि २०७९ साउन २८ मा उच्च अदालत पाटनले गरेको निर्णयलाई सदर गर्दै आएको हो।

मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। यसअघि उनी सोही मुद्दामा २ वर्ष ८ महिना जेल बसिसकेका थिए। अदालतको निर्णयअनुसार उनले थप करिब २ वर्ष ४ महिना कैद भोग्नुपर्ने थियो। तर जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत सजाय छुट दिने आदेश दिएपछि बाँकी सजाय पूरा गरी उनी रिहा भएका हुन्।