प्रकाश काफ्ले / काठमाडौं । चेन्नईमा दक्षिण भारतीय टेलिभिजन तथा चलचित्र क्षेत्रमा सक्रिय रहेकी अभिनेत्री सुभाषिनी सुब्रमण्यम को ३६ वर्षको उमेरमा दुखद निधन भएको छ। उनको शव चेन्नईको इयप्पंथंगल क्षेत्रमा रहेको आफ्नै फ्ल्याटमा फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारी अनुसार, सुभाषिनी केही समयदेखि मानसिक तनाव तथा डिप्रेसनबाट गुज्रिरहेकी थिइन्। घटनाको दिन अर्थात् अप्रिल ६ मा उनले आफ्ना श्रीमान् बिपिन चन्द्रन सँग भिडियो कलमार्फत कुरा गरेकी थिइन्, जसक्रममा उनीहरूबीच चर्को विवाद भएको अनुसन्धानबाट खुलेको छ। सोही घटनापछि आवेगमा आएर उनले आत्महत्याजस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले वास्तविक कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि पठाएको छ र अनुसन्धान जारी रहेको जनाएको छ। श्रीलंकाली मूलकी सुभाषिनीले सन् २०२४ मा बिपिनसँग विवाह गरेकी थिइन्। तर पछिल्लो समय वैवाहिक सम्बन्धमा समस्या आएपछि उनीहरू अलग-अलग बस्दै आएका थिए।

सुभाषिनीले सन् २०१२ मा इनी अवन बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले तमिल टेलिभिजन क्षेत्रमा महत्वपूर्ण पहिचान बनाएकी थिइन्। विशेषगरी कायल सिरियलमा निभाएको ‘दीपिका’ पात्रले उनलाई दर्शकमाझ निकै लोकप्रिय बनाएको थियो। यसबाहेक उनले “इल्लाम मेला इरुकुरवन पाथुप्पन” लगायतका फिल्म र वेब सामग्रीहरूमा पनि अभिनय गरेकी थिइन्।

मृत्युभन्दा दुई दिनअघि मात्र उनले सामाजिक सञ्जालमा जीवनको अर्थबारे भावुक सन्देश साझा गरेकी थिइन्, जसले अहिले सबैको थप ध्यान तानेको छ। श्रीलंकाबाट चेन्नई आएर संघर्ष गर्दै स्थापित बनेकी एक प्रतिभाशाली कलाकारको यस्तो असामयिक निधनले दक्षिण भारतीय मनोरञ्जन क्षेत्र स्तब्ध बनेको छ।