चितवन । घाउचोट र रक्तस्रावका कारण मान्छे नजिक पर्न पनि गाह्रो हुने गरेर शरीर गन्हाएकी एक युवतीको उपचारका क्रममा निधन भएको छ ।

युवतीको निधनअघि नै उनीमाथि सामूहिक बलात्कार भएको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

चितवन प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । आफन्तका अनुसार युवतीले कल्पना गर्न पनि नसकिने क्रूरता झेलेकी थिइन् ।

चितवन सदरमुकाम भरतपुरदेखि ३२ किलोमिटर पूर्व लागेपछि महेन्द्र राजमार्गको पिप्ले चोक आउँछ । त्यहाँबाट दक्षिणतर्फको ग्रामीण सडक चितवन निकुञ्ज आडको मध्यवर्ती वनमा पुगेर टुंगिन्छ ।

राजमार्गदेखि झन्डै २ किलोमिटर परको जंगल आडमा रहेको नयाँबस्तीस्थित भाउजूको घर जान काठमाडौंबाट चैत १० मा हिँडेकी थिइन् एक युवती ।

बाटोमै रात परेपछि बाटो मेसो नपाएपछि भण्डारा बजारको चोकमा झरेकी युवतीलाई मकवानपुरको हेटौंडा–९ चौधघरे बस्ने वर्ष ४५ का पूर्ण घलानले भाउजूको घरमा भोलिपल्ट पुर्‍याइदिने भन्दै आफूसँगै लिएर गए ।

तर घलान २ महिना १० दिनपछि जेठ २० मा मात्रै युवतीलाई लिएर उनकी भाउजूको घरमा गए । घलान अहिले चितवन प्रहरीको नियन्त्रणमा छन् । काठमाडौंमा घर ढलानको काममा मजदुरी गरेर गुजारा गर्दै आएकी २७ वर्षीया ती युवती गत फागुनमा पनि भाउजूको घरमा आएकी थिइन् । फागुनमा आउँदा र जेठ २० मा आउँदा उनमा आकाश–जमिनको फरक थियो । जीउडालले हैन बोलीले मात्रै चिनेको भाउजूले बताइन् ।

‘अटोमा आएकी थिइन् । झर्न पनि घस्रँदै झरिन् । त्यो दिन हाम्रोमा कोही आउनेवाला थिएन । यो हालतमा त झन् कोही आउला भनेर सोचेको पनि थिइनँ । अटोले कसलाई लिएर आयो भन्ने सोच्दै थिएँ, भाउजू भनेर बोलाएपछि पो मैले नन्द भनेर चिनें,’ भाउजूले भनिन् । फागुनमा आएर ५–६ दिन बसेर फर्कंदा नन्दको अवस्था अर्कै थियो । मोटीमोटी, फूर्तिली नन्दले मकै भाँच्न र गोठालोसमेत गएर सघाएकी थिइन् ।

साइकल चलाएर दिउँसो बाटोमा तीन–चारपटक ओहोरदोहोर गर्दा भाउजूका छिमेकी महिलाले ‘गर्मीमा धेरै साइकल नचलाउ है’ भनेर सम्झाउँथे । ‘मैले अलि दिन यतै बस्नु नानी भनेको थिएँ । सिजनको बेला छ, घर ढलानको काम यही बेला आउँछ । यता यसै के बस्ने भनेर गएकी थिइन् । यो हालतमा देख्दा होस हवासै उड्यो,’ भाउजूले भनिन् । नन्दले बिहे गरे पनि दुलाहा साथमा थिएनन् । काठमाडौंमा दिदीहरूसँगै डेरामा बस्ने गर्थिन् ।

‘बीचमा एकपटक अर्को नन्दको फोन त आएको थियो । कान्छी त्यता आएको छ र भाउजू भनेर । तर मैले नाई भने । हिँड्दा १५ सय रुपैयाँ लिएर निस्केकी रहिछन्,’ भाउजूले भनिन् । अटोमा घलान पनि सँगै आएका थिए । सुरुमा घलानले आफूहरूले बिहे गरेको, बिरामी परेर उपचार गराउँदा २९–३० हजार रुपैयाँ खर्च भएको बताए । तर केरकार गर्दै जाँदा बिहे नगरेको पत्ता लाग्यो । बढी सोधपुछ हुन थालेपछि घलान आफ्नो बाटो लागे ।

घलान नभएपछि युवतीले बल्ल कुरा खोलिन् । ‘अलमलिएर भण्डारा बजारमा झरेपछि ऊसँग भेट भएको रहेछ । कुरा हुँदै गर्दा आज राति भयो, भोलि पुर्‍याइदिन्छु भनेर आफूसँग लिएर गएछ । तर पछि फुत्किनै दिएनछ । माछापोखरीको आडमा एउटा छाप्रो रहेछ । त्यहीं लगेर राखेछ । ऊ र अरू तीन जना रातमा आउने, बलात्कार गर्ने गरेको नन्दले सुनाउँदा त हामीलाई भाउन्न भएर आयो,’ भाउजूले भनिन् ।

युवतीको स्वास्थ्य अवस्था नाजुक थियो । शरीर सुकेर हाडछाला मात्रै थियो । पिठोको खोले पनि निल्न नसकेर आपत् हुन्थ्यो । कपाल गुजुल्टिर लट्टा परेको थियो । शरीर गन्हाएर नजिक पर्न गाह्रो थियो । झोलामा कपडाहरू त थिए तर रगतैरगत भएर ती पनि डुङडुङ्ती गन्हाएका थिए । मान्छे कोठामा बस्दा घरै गन्हाउने हुन्थ्यो । ‘बिरामीको स्याहार गर्ने कि त्यसलाई खोज्ने भयो,’ भाउजूले भनिन् ।

जेठ २४ मा घरदेखि तीन–चार किलोमिटर पर रक्सी खानका लागि घलानले ‘श्रीमती बिरामी रहेकाले उपचारका लागि खर्च मागेपछि’ गाउँलेले समाएर प्रहरीको जिम्मा लगाएको युवतीकी भाउजूको भनाइ छ । रक्तस्राव बढेपछि युवतीलाई पनि त्यही दिन भरतपुर अस्पतालमा भर्ना गरियो । उपचारका क्रममा जेठ ३० गते उनको निधन भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

‘अत्यधिक रक्तस्राव, मिर्गौला र आन्द्रामा पुरानो रोग पनि रहेछ । संक्रमण फैलिएका कारण मृत्यु भएको देखिन्छ,’ सूचना अधिकारी पौडेलले भने । ती युवतीलाई घलानले भण्डारा आदर्श टोलको माछापोखरीको आडको छाप्रोमा राखेको चितवन प्रहरीले पत्रकारलाई जानकारी दिएको हो । भण्डारा बजारदेखि नजिकै राप्ती नगरपालिका–६ को वडा कार्यालय आडमा एउटा माछापोखरी छ । पोखरी अगाडि विद्यालय छ । वडाध्यक्ष जल्लु महतोले त्यहाँ त्यस्तो घटना भएको प्रहरीले भनेपछि नै जानकारी पाएको बताए । विद्यालयका प्रधानाध्यापक कुमार लामा सो घरमा घटना भएको आफूले अहिलेसम्म थाहा नपाएको बताए ।

भण्डारा बजारदेखि दुई किलोमिटर पर चौकीडाँडा घर भएकी कालीमाया परियार भैंसी चराउन सधैं त्यहाँ आउँछिन् । ‘एक दिन म त्यो छाप्रो आडमा जाँदा एउटी महिला देखें । ६ दिनदेखि केही खाएको छैन भन्थिन् । बूढा छ भन्थिन् । मैले उनीसँग लोग्नेमान्छे त देखिनँ । यहाँ फोहोर उठाउन आउनेले भने देखेका रहेछन्,’ कालीमायाले भनिन् । उनको शरीरबाट साह्रै नमीठो गन्ध आउने गरेको उनले बताइन् ।

‘पछि कता लगे थाहा भएन । त्यो बहिनी गएपछि पनि त्यहाँ गन्हाइरहन्थ्यो । पानी आएर बाछिटाले पखालेपछि अचेल बल्ल गन्ध आउन कम भएको छ,’ कालीमायाले भनिन् । रातमा अरू केटाहरू पनि आएर जबर्जस्ती गर्ने, बाहिर अरूलाई केही भने मारेर खोलामा फाल्दिन्छु भनेपछि नन्दले कसैलाई केही भन्दै नभनेको भाउजूले बताइन् । यस्तै व्यहोराको उजुरी चितवन प्रहरीमा पनि परेको छ । ‘हामी उजुरीलाई आधार मानेर अनुसन्धानमा अगाडि बढेका छौं । धेरै कुराहरू खुल्न बाँकी नै छ । त्यो मान्छेले बीचमा एकपटक महिलालाई अस्पताल ल्याएर उपचार पनि गरेको रहेछ । मेरी श्रीमती हो भनेर उपचार गरेको रहेछ । खास कुरा के हो अनुसन्धान पूरा भएपछि खुल्छ,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले भने । उजुरीमा अन्य तीन जना संलग्न भएको भने पनि प्रहरीले अरू कसैलाई समाएको छैन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु