२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

नेपालले अमेरिकाको लियो आठौं विकेट

Nepali Cricket team

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएको छ।

अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। यस्तै गजानन्द सिंह २६ रन बनाएर आउट भएका छन्। यस्तै ओपनिङ ब्याटर सुशान्त मोदानी ४२ रन जोडेर पेभिलियन फर्के। निशर्ग पटेलले ८ रन मात्र जोड्न सके। जेसी सिंह मात्र १२ रन जोडेर बाहिरिए ।

नेपालका लागि करण केसीले सुरूवाती चार विकेट लिए। पाँचौ विकेट दिपेन्द्रसिंह ऐरीले हात पारे। ऐरीले गजानन्द सिंहलाई २१.३ ओभरमा आरिफ शेखबाट क्याच गराए।

नेपालका लागि छैटौं विकेट ललितनारायण राजवंशीले लिए। उनले सुशान्तलाई बोल्ड गरे। नेपालका लागि गुल्सन झाले सातौं विकेट लिए। उनले पटेललाई विकेटकिपर आसिफबाट क्याच गराए। आठौं विकेटपनि दिपेन्द्रसिंह ऐरीले लिए । यो समाचार तयार पार्दा अमेरिकाले ४५.३ ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको छ ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने।

पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए। सुपर सिक्समा पुग्नका लागि दुवै टिमलाई आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित निकाल्न सके मात्र सुपर सिक्स सम्भावना जीवित हुन सक्छ।

नेपाल र अमेरिकाबीच भएका पछिल्ला ६ एकदिवसीय खेल मध्ये नेपाल तीन र अमेरिका दुई खेलम विजयी भएका छन्। एक खेल भने बराबरीमा सकिएको छ। आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२० मा घरेलु मैदानमा खेलिएका दुवै खेलमा नेपालले अमरिकालाई पराजित गरेको थियो। त्यसपछि ओमानमा २०२१ मा भएको दुई मध्ये नेपाल र अमेरिकाले एक एक खेलमा जित निकालेका थिए।

अमेरिकामा २०२२ मा भएको अन्तिम सिरिजमा भने एक खेल बराबरीमा सकिदा अर्को खेलमा अमेरिका वियजी भएको थियो। १० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। आज अमेरिकासँग खेलेपछि नेपालले २२ जुनमा वेस्ट इन्डिज ९असार ७० र २४ जुनमा ९असार ९० नेदरल्यान्ड्ससँग खेल्नेछ। पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्। सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस