२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

कुवेतलाई हराउँदै विश्वकप छनोटमा नेपालको शानदार विजयी सुरुवात

काठमाडौं – ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले शानदार जीत हासिल गरेको छ।

बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। कुवेतका लागि क्लिन्टो अन्टोले २६ र यासिन पटेलले १९ रन बनाए।

नेपालका बलरमध्ये ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २–२ विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट झारे।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रन (३ चौका र ३ छक्का) बनाएर उत्कृष्ट प्रदर्शन गरे।

दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान दिए भने गुल्शन झाले अन्तिमतिर ६ बलमा २० रनको विस्फोटक क्यामिओ पारी खेले। उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए।

कुवेतका लागि अनुदीप चेन्थामाराले २ विकेट लिए र ४ ओभरमा २२ रन दिए। नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए भने मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट लिए।

यो जितसँगै नेपाल सुपर सिक्समा प्रवेश सुनिश्चित गर्न सफल भएको छ। अब नेपालले आफ्नो अर्को खेल शुक्रबार (असोज २३) मा जापानसँग खेल्नेछ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस