२०८२ फाल्गुन ९ गते शनिवार | 2026 February 21st Saturday

अमेरिका काण्डमा एलिना चौहानको नयाँ खुलासाले अर्को हंगामा

काठमाडौं — गायिका एलिना चौहानले अमेरिकामा भएको विवादबारे पुनः सामाजिक सञ्जालमा स्पष्टिकरण दिइन्। हालसालै भाइरल भएको अडियोको आधा मात्रै सार्वजनिक भएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘पूरै अडियो हाल्ने हिम्मत छ????, अगाडि तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको अडियो कहाँ गयो। आत्मसम्मान सम्झौता हुँदैन, हजारचोटि कसैले मलाई नराम्रो गरे पनि म हजारचोटि उभिन्छु र आफ्नो लागि लड्छु।🔥’

एलिनाले अमेरिकामा सांगीतिक कार्यक्रममा आफूमाथि मदिरा पिएर आयोजकले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।

नेपाल फर्किएपछि उनले आफ्नो अमेरिका भ्रमणबाट सिकेका अनुभव साझा गर्दै फेसबुकमा लेखेकी छन्, ‘कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो। आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ। नराम्रा अनुभवले धेरै कुरा सिकायो—अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’

उनको अभिव्यक्तिपछि आयोजक विनोद अधिकारीको तर्फबाट अडियो सार्वजनिक भएपनि एलिनाले थप आक्रोश पोखेकी छन्। अडियो तोडमोड गरी सार्वजनिक गरिएको भन्दै उनले सामाजिक सञ्जालमा प्रश्न गरेकी छन्, ‘पूरै अडियो हाल्ने हिम्मत छ? तलाई घाटा हुनेवाला छ भनेर धम्की दिएको अडियो कहाँ गयो?’

सामाजिक सञ्जालमा उनीमाथि समर्थन र आलोचना दुबै भइरहेको छ। कतिपयले उनको समर्थन गरेका छन् भने कतिपयले प्रश्न उठाएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस