२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

बालेनलाई निर्वाचन आयोगको दोस्रो झट्का : यस्तो पत्र पठायो, पत्नी सविना पनि विवादमा

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा साह पनि परेका हुन्।

आयोगका अनुसार शनिबारसम्म २१ जनासँग स्पष्टीकरण सोधिएको थियो भने आइतबार र सोमबार साहसहित थप नौ जनालाई स्पष्टीकरण सोधिएको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले झापा क्षेत्र नम्बर ५ मा चुनाव प्रचारका क्रममा साहकी पत्नी सविना काफ्लेसँग सादा पोशाकका प्रहरी प्रयोग गरिएको भन्ने सूचना तथा श्रव्यदृश्य सामग्री प्राप्त भएपछि स्पष्टीकरण सोधिएको जानकारी दिए।

निर्वाचन आचारसंहिता २०८२ का विभिन्न दफाहरू उल्लङ्घन भएको भन्दै आयोगले साहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। रास्वपाबाट झापा–५ का उम्मेदवार साहलाई आयोगले आइतबार दोस्रो पटक स्पष्टीकरण सोधेको हो।

बालेन्द्रलाई जिताउन भन्दै सविना झापामा खटिएकी थिइन्। त्यही क्रममा सादा पोशाकका प्रहरी प्रयोग गरी भोट मागिएको भन्ने समाचार र भिडियो सार्वजनिक भएपछि आयोगले चासो राखेको हो। भिडियोमा सविनासँगै सादा पोशाकका प्रहरी रास्वपालाई भोट दिन आग्रह गर्दै हिँडेको देखिएको आयोगको भनाइ छ।

‘त्यस सम्बन्धमा के कसो भएको हो ?’ भन्दै आयोगले साहसँग जवाफ माग गरेको प्रवक्ता जिसीले बताए। यसअघि १३ माघमा पनि आयोगले साहसहित सामाजिक सञ्जालमा चर्चामा रहेका चार जनालाई एकसाथ स्पष्टीकरण सोधेको थियो।

त्यस बेला आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र उम्मेदवार निकोलस भुसाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति : २०८२ माघ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस