२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

डेङगु रोकथामका लागि लार्भा नष्ट अभियान

धरान । धरानमा डेङ्गुको प्रकोप बढ्न थालेपछि उपमहानगरपालिकाको सबै वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ (खोजी र नष्ट) अभियान सुरु गरेको छ । पछिल्लो समय डेङ्गु संक्रमणका कारण प्रत्येक वडामा बिमारी भएसँगै धरान स्वास्थ्य महाशाखाको तथ्याङ्कअनुसार डेङगुका कारण धरान –१७ मा एक जना महिलाको जेठ २३ गते मृत्यु भएको पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताउनुभयो ।

डेङगु तिव्र गतिमा फैलिन थालेपछि यसको नियन्त्रणका लागि प्रभावकारी उपाय लार्भाको वासस्थान खोजी र नष्ट गर्ने भएकोले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताउनुभयो । उहाँका अनुसार डेङ्गु परीक्षणका लागि रोग नियन्त्रण महाशाखा काठमाडौँ र प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटासँग समन्वयमा कोशी प्रदेशका विज्ञ टोलीले डेङगु परीक्षण गरिरहेको छ ।

गत शुक्रबार यहाँ आएको टोलीले धरान –१७ फोकल्याण्ड टापुलगायत अन्य टोलहरूमा स्वास्थ्य परीक्षण गर्दा डेङगु सङ्क्रमण प्रमाणित भएको उहाँले बताउनुभयो । धरान उपमहानगरको तथ्याङ्कअनुसार हाल धरानका २० वटै वडामा डेङ्गु सङ्क्रमित रहेका छन् ।

असार १० गतेदेखि १३ गतेसम्मको तथ्याङ्कअनुसार नगरमा २ सय ४१ डेङ्गु सङ्क्रमित रहेका छन् । कुल ७ सय ७८ जनाको परीक्षण गर्दा २ सय ४१ सङ्क्रमित देखिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १४ गते परीक्षण गराएका ६८ जनामध्ये ३० जना सङ्क्रमित देखिएका छन् ।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस