२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

अमेरिकाको भिसा नीतिमा व्यापक परिवर्तन, भारतीयलाई ठूलो झट्का

काठमाडौं । अमेरिकाले एच-१बी भिसाको आवेदन शुल्क १ लाख डलर पुर्‍याउने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसमा हस्ताक्षर गर्दै यो नियम लागू गर्ने तयारी गरेको हुन्।

अहिलेसम्म २१५ डलरदेखि केही हजार डलरसम्म मात्र लाग्ने शुल्क बढेर १ लाख डलर पुग्दा उच्च दक्ष सीप भएका व्यक्तिलाई मात्र अमेरिका भित्रिन सक्ने वातावरण बन्नेछ।

गत वर्ष स्वीकृत एच-१बी भिसामध्ये ७१ प्रतिशत भारतका नागरिकले प्राप्त गरेका थिए भने चीन ११.७ प्रतिशतसहित दोस्रो स्थानमा थियो। भारतीय आईटी कम्पनीहरूले प्रत्येक वर्ष हजारौं कर्मचारीलाई एच-१बी भिसामा अमेरिका पठाउने गरेकाले यो शुल्कले उनीहरूलाई ठूलो असर गर्ने देखिन्छ।

यसले युवा इन्जिनियरहरूको अमेरिका जाने अवसर घटाउनेछ, किनकि शुल्क कम्पनीहरूले तिर्नुपर्ने हुन्छ। विशेषज्ञहरूले अब भारतीय पेशेवरहरू युरोप, क्यानडा, अष्ट्रेलिया वा मध्य पूर्वतर्फ आकर्षित हुने अनुमान गरेका छन्।

ट्रम्प प्रशासनले आगामी केही हप्तामै नयाँ दर लागू गर्ने संकेत दिएको छ। वाणिज्य सचिव हावर्ड लुटनिकले अमेरिकी कम्पनीहरूले अब विदेशी सीपदार कर्मचारी भन्दाभन्दा अमेरिकी स्नातकलाई रोजगारी दिनुपर्ने बताएका छन्।

एच-१बी भिसा कार्यक्रम सन् १९९० मा सुरु भएको हो। यसअन्तर्गत विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा दक्ष व्यक्तिहरूलाई तीनदेखि छ वर्षको लागि अमेरिका जान अनुमति दिइन्छ। हालै अमेजनले सबैभन्दा धेरै एच-१बी भिसा प्राप्त गरेको छ भने टीसीएस, माइक्रोसफ्ट, एप्पल र गुगल त्यसपछि छन्।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस