२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

अष्ट्रेलियाको सिड्नीमा भयावह घटना : १० जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित प्रसिद्ध बोन्डी बिचमा आज दिउँसो भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बन्दुकधारी पनि रहेका छन् भने अर्को एक जना प्रहरी नियन्त्रणमा छन्।

प्रहरीका अनुसार घटनामा १२ जना घाइते भएका छन्, जसमा दुई जना प्रहरी अधिकारी पनि समावेश छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रत्यक्षदर्शीहरूले गोली चलेपछि मानिसहरू त्रासमा भाग्दै गरेको दृश्य देखिएको बताएका छन्।

अष्ट्रेलियाली अधिकारीहरूले अब कुनै सक्रिय खतरा नरहेको स्पष्ट पारेका छन्। तर स्थानीय बासिन्दा र पर्यटकलाई अझै पनि उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ। आपतकालीन सेवाहरू घटनास्थलमै खटिएका छन् र अनुसन्धान जारी छ।

यो गोलीकाण्डले अष्ट्रेलियाको सबैभन्दा चर्चित समुद्र तटमा ठूलो त्रास फैलाएको छ। यसले धार्मिक समुदायलाई लक्षित गरिएको आशंका पनि बढाएको छ। अष्ट्रेलियाका नेताहरूले घटनाप्रति शोक व्यक्त गर्दै यसलाई हिंसात्मक र घृणित आक्रमण भनेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस