प्रकाश काफ्ले/काठमाडौ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग जारी युद्धका कारण अस्थिर बनेको अन्तर्राष्ट्रिय तेल बजारलाई स्थिर राख्न केही तेल उत्पादन गर्ने देशमाथि लगाइएका प्रतिबन्ध अस्थायी रूपमा हटाउन सकिने संकेत दिएका छन्।
सोमबार मियामीस्थित आफ्नै गल्फ क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले विश्व तेल बजारमा पछिल्लो समय देखिएको तीव्र उतारचढावका कारण यस्तो कदमबारे विचार भइरहेको बताएका हुन्। पछिल्लो २४ घण्टामा कच्चा तेलको मूल्य करिब १२० डलर प्रति ब्यारेलसम्म पुगेपछि फेरि ९० डलरभन्दा तल झरेको थियो, जसले ऊर्जा बजारमा ठूलो अनिश्चितता सिर्जना गरेको छ।
ट्रम्पका अनुसार हाल अमेरिकाले केही देशहरूमाथि तेलसम्बन्धी आर्थिक प्रतिबन्ध लगाएको छ र मध्यपूर्वको अवस्था सामान्य नहुन्जेल केही प्रतिबन्ध हटाउने सम्भावना रहेको छ। तर उनले कुन–कुन देशलाई राहत दिने भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन्। हाल अमेरिका द्वारा रुस, इरान र भेनेजुएला जस्ता देशका तेल क्षेत्रमाथि प्रतिबन्ध लागू गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा तेलको अभाव नहोस् भन्ने उद्देश्यले अमेरिकी प्रशासनले रुसमाथि लगाइएका केही प्रतिबन्ध खुकुलो पार्ने विकल्प पनि अध्ययन गरिरहेको बताइएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेपछि ऊर्जा बजारमा तनाव बढेको हो। विशेषगरी विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्य Strait of Hormuz प्रभावित भएपछि तेल आपूर्ति संकटको चिन्ता बढेको छ।
इरानले उक्त मार्ग बन्द गर्ने चेतावनी दिएपछि क्षेत्रीय जहाज आवतजावतमा अवरोध सिर्जना भएको छ। यसका कारण खाडी क्षेत्रका केही उत्पादक देशले उत्पादन घटाएका छन् भने आपूर्ति ढिलाइ भएको छ।
ऊर्जा विश्लेषकहरूले यदि होर्मुज जलडमरूमध्य लामो समयसम्म बन्द रह्यो भने तेलको मूल्य १५० देखि २०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।
युद्धको अवधि सम्बन्धमा ट्रम्पले मिश्रित संकेत दिएका छन्। उनले एकातिर युद्ध चाँडै अन्त्य हुन सक्ने बताएका छन् भने अर्कोतर्फ “शत्रु पूर्ण रूपमा पराजित नहुन्जेल सैन्य कारबाही जारी रहने” पनि बताएका छन्।

