प्रकाश काफ्ले / काठमाडौं । सुडानमा सन् १९९३ मा परेको भीषण भोकमरीको समयमा खिचिएको एक तस्बिरले विश्वभर ठूलो चर्चा पाएको थियो। दक्षिण अफ्रिकी फोटो पत्रकार केभिन कार्टरले खिचेको उक्त तस्बिरमा एक कुपोषित सानो बालिका भुइँमा लडिरहेको र नजिकै एउटा गिद्ध उसलाई मर्ने प्रतीक्षामा बसेको देखिन्छ।
उक्त तस्बिर पछि “द भल्चर एन्ड द लिटल गर्ल” (The Vulture and the Little Girl) नामले परिचित बन्यो। यो तस्बिर द न्यूयोर्क टाइम्स (The New York Times) मा प्रकाशित भएपछि विश्वभर व्यापक प्रतिक्रिया आएको थियो। तस्बिरले भोकमरीको भयावह अवस्थालाई उजागर गरे पनि पत्रकारको भूमिकामाथि गम्भीर प्रश्नहरू उठ्न थाल्यो।
सन् १९९४मा सोही तस्बिरका लागि कार्टरले प्रतिष्ठित पुलित्जर पुरस्कार (Pulitzer Prize) प्राप्त गरेका थिए। तर पुरस्कार प्राप्त गरेपछि पनि विवाद रोकिएन। एक पत्रकारले सोधे—“तस्बिर खिचेपछि तपाईंले ती बालिकालाई के गर्नुभयो?” जवाफमा कार्टरले आफू विमान समात्न हतारमा रहेको र तस्बिर खिचेपछि त्यहाँबाट हिँडेको बताएका थिए। यसपछि सामाजिक तथा पत्रकारिता वृत्तमा उनको कडा आलोचना हुन थाल्यो। धेरैले मानवता भन्दा पेशालाई प्राथमिकता दिएको आरोप लगाए। लगातार आलोचना, युद्ध र भोकमरीका पीडादायी दृश्यहरूको प्रभाव तथा व्यक्तिगत समस्याका कारण केभिन कार्टर गम्भीर मानसिक तनावमा परेका थिए।
अन्ततः सन् १९९४ जुलाईमा उनले आत्महत्या गरेका थिए।

