२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

अब फुटबलबाट बिदा? सन्यासबारे बोले क्रिस्टियानो रोनाल्डो

काठमाडौं — विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले चाँडै फुटबलबाट अवकाश लिने संकेत दिएका छन्। उनले आफ्नो चम्किलो करियरको अन्त्य गर्न गाह्रो हुनेछ भन्दै, केही वर्षदेखि नै फुटबलपछिको जीवनको तयारी गरिरहेको खुलासा गरेका छन्।

अल नासरका स्ट्राइकर रोनाल्डो क्लब र देशका लागि ९५२ गोलसहित विश्व फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले गत महिना १,००० गोलको लक्ष्य राखेको बताएपछि अब “चाँडै” सन्यास लिने समय आएको बताएका छन्।

‘मलाई लाग्छ म तयार हुनेछु, तर यो धेरै गाह्रो हुनेछ,’ रोनाल्डोले पियर्स मोर्गनसँगको अनसेन्सर्ड अन्तर्वार्तामा भनेका छन्।

उनका अनुसार, ‘२५–२७ वर्षको उमेरदेखि नै मैले भविष्यको योजना बनाएको थिएँ। फुटबलमा गोल गर्दा आउने एड्रेनालाईनको अनुभव कुनै कुरासँग तुलना गर्न सकिँदैन। तर, हरेक यात्राको सुरुवात हुन्छ र अन्त्य पनि।’

रोनाल्डोले अब परिवार र सन्तानसँग समय बिताउन चाहेको बताएका छन्।

म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोनाल्डोले क्लबप्रति अझै पनि माया रहेको जनाएका छन्। उनले भने, ‘युनाइटेड विश्वका महान क्लबमध्ये एक हो, तर अहिले राम्रो बाटोमा छैन। संरचना सुधार आवश्यक छ।’

उनले प्रशिक्षक रुबेन अमोरिमको प्रयासको प्रशंसा गर्दै भनेका छन्, ‘उनी आफ्नो उत्कृष्ट प्रयास गरिरहेका छन्, तर फुटबलमा चमत्कार सम्भव हुँदैन।’

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस