काठमाडौं । अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आएका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार अधिकांशजसो तल्लो बाटोबाट अमेरिका पुगेका थिए, भने एक जना विद्यार्थी र एक जना भिजिट भिसाधारी पनि परेका छन् ।
विद्यार्थीले कलेज नवीकरण नगरी भिसाविपरीत काम गरेको, र भिजिट भिसामा गएकाले अवैध रूपमा काम गर्न सुरु गरेपछि दुवैलाई पक्राउ गर्दै डिपोर्ट गरिएको पंगेनीले बताए । बाँकी ३३ जनाले भने ८० लाख रुपैयाँसम्म तिरेर अवैध बाटो हुँदै अमेरिका पुगेका थिए । दुई वर्षसम्म विभिन्न देशमा घुमाइएपछि उनीहरू अन्ततः डिपोर्ट गरिएका हुन् ।
फर्किएका धेरैजसो रुकुम–दाङ क्षेत्रका रहेको प्रहरीले जनाएको छ । उनीहरूले प्रहरीसमक्ष जाहेरी दिन भने अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडाइ गरेपछि अहिलेसम्म २ सयभन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन् ।

