प्रकाश काफ्ले/काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै निर्वाचित आफ्ना प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिनको अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सबै सांसदलाई कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन पार्टीले निर्देशन दिएको छ। पार्टीका अनुसार कार्यक्रम चैत ३ र ४ गते ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिप मा सञ्चालन हुनेछ। यो कार्यक्रम पूर्ण रूपमा आवासीय स्वरूपको हुनेछ।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले जारी गरेको आन्तरिक सूचनामा कार्यक्रम अवधिभर सांसदहरूको खाना तथा बसोबासको व्यवस्था पार्टीले ‘सेयरिङ’ आधारमा मिलाउने उल्लेख गरिएको छ। अभिमुखीकरण चैत ३ गते बिहान १० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुने सांसदहरूलाई ‘बिजनेस क्याजुअल’ पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ। कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाउन केही कडा नियमहरू पनि लागू गरिएको छ। अभिमुखीकरण चलिरहेको हलभित्र मोबाइल फोन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

यसका साथै कार्यक्रममा परिवारका सदस्य, साथीभाइ वा अन्य पाहुनालाई नल्याउन र बाह्य व्यक्तिसँग भेटघाट वा फोटो खिच्ने जस्ता गतिविधि नगर्न सांसदहरूलाई निर्देशन दिइएको छ। सांसदसँग आएका चालक वा अन्य सहयोगीहरूको खाना तथा बसोबासको व्यवस्था भने सम्बन्धित सांसदले आफैं मिलाउनुपर्ने बताइएको छ। पार्टी स्रोतका अनुसार संसदको कार्यप्रणाली, पार्टीको नीति–दिशा तथा आगामी रणनीतिबारे सांसदहरूलाई जानकारी र प्रशिक्षण दिन यो कार्यक्रम आयोजना गर्न लागिएको हो।