२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

एसिया कपको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच, यस्तो छ भारतसहित अरु देशसँगको तालिका

asia cup nepal vs pakistan

काठमाडौं । नेपालले पहिलो पटक खेल्न लागेको एसिया कपको अन्योलता अन्त्य भएको छ । एसीसीले पाकिस्तान र श्रीलंकामा आयोजना गर्ने गरी एसियाकप २०२३ को मिति टुंगो लगाएको छ । उद्घाटन खेल ३१ अगस्टमा हुने छ भने फाइनल खेल १७ सेप्टेमबरमा हुने छ । एसियाकप पछि भारतमा विश्वकप आयोजना हुने छ । एसिया कपमा ६ देशले भाग लिँदै छन् । वैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा नेपालले स्थान पक्का गरेको हो ।

 

नेपाल विश्व विजेता भारत र पाकिस्तानको समूहमा परेको छ । पाकिस्तान र भारतकाबीच विवाद हुँदा प्रतियोगिता नै अन्योलमा परेको थियो । एसीसी र आइसीसीको पहलमा आयोजक राष्ट्र पाकिस्तान नै रहने गरी श्रीलंकामा पनि खेल आयोजना गर्ने गरी प्रस्ताव गरिएको थियो । सोही प्रस्ताव अनुसार एसिया कपका १३ खेल मध्य ४ खेलमात्रै पाकिस्तानमा हुने छन् भने बाँकी ९ खेल श्रीलंकामा हुने छन् । पाकिस्तान र श्रीलंकाले कुन कुन मैदानमा प्रतियोगिता आयोजना गर्ने विषयमा अहिले नै प्रष्ट पारेका छैनन् ।

नेपालले समूह चरणमा भारतसँग श्रीलंकामा खेल्दा पाकिस्तानसँग पाकिस्तानमै खेल्ने छ । प्रतियोगिताकै उद्घाटन खेलेमा नेपाल र पाकिस्तान भिड्ने भएका छन् । यस वारेमा औपचारिक सेड्युल जारी नभए पनि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तान र नेपालबीच उद्घाटन खेल हुने पुष्टि गरे ।

एसिया कपको खेल १५ वर्षपछि पाकिस्तानमा हुँदैछ । पाकिस्तानले पछिल्लो पटक सन् २००८ मा एसिया कप आयोजना गरेको थियो जब श्रीलंका फाइनलमा भारतलाई हराएर च्याम्पियन बनेको थियो। अब पाकिस्तानी टोलीले आफ्ना लिग खेलहरू पाकिस्तानमा खेल्नेछ भने सुपर फोरका खेलहरू र भारतीय टोलीका खेलहरू श्रीलंकामा खेल्नेछन्। फाइनल खेल पनि श्रीलंकामा हुनेछ ।

दुई समुहमा विभाजन गरिएको यस प्रतियोगितामा कुल ६ टोलीको सहभागिता रहनेछ । दुवै समूहका टोलीले एकअर्कासँग खेल्नेछन् र अंक तालिकाको अन्तिममा रहने टोली बाहिरिनेछ । योसँगै दुवै समूहको अंक तालिकाको शीर्ष दुवै टोली सुपर फोरमा पुग्नेछन् ।

चार टोलीले एकअर्कासँग खेल्नेछन् र शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । यसपटक एकदिवसीय विश्वकपअघि एसिया कप आयोजना हुँदैछ । त्यसैले यो प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुनेछ। गत वर्ष एसिया कप टी–२० फर्मयाटमा भएको थियो र फाइनलमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो ।

 

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस