२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

विश्वकपका लागि नेपाल छानिने सम्भावना कति छ ?

Nepali Cricket team

काठमाडौं । आगामी आइतबारदेखि विश्वकप क्रिकेट छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाव्वेमा चार टीमसँग प्रतिस्पर्धा गर्दैछ । लिग टु को पछिल्लो सफलता र एसिया कपमा छनोट भएपछि उच्च मनोबलमा रहेको नेपाली टोलीले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेर जिम्बाव्वे पुगेको हो । दक्षिण अफ्रिकामा खेलेका तीनवटै अभ्यास खेलमा पराजित भएको नेपालले जिम्बाव्वेमा यूएईसँगको खेल हारेको छ भने ओमानसँगको खेल जितेको छ ।

नेपालले विश्वकप छनौटमा पूर्वविजेता वेष्ट इन्डिज, घरेलु टोली जिम्बाव्वे, एसोसिएट राष्ट्र चीर परिचित टिम नेदरल्याण्ड्स र अमेरिकासँग उत्कृष्ट प्रर्दशन गरेर अर्को समूहका श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई मध्ये विजयीसँग भेट गर्नुपर्नेछ ।

दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा प्रवेश गर्नेछन् । सुपर सिक्सको भेटपछि शीर्ष २ मा रहने टोलीले भारतमा हुने विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्ने छन् । नेपालले ३ असारमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट यात्रा सुरु गर्नेछ । यस्तै ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इन्डिज र ९ असार मा नेदरल्याण्ड्ससँग खेल्नेछ । नेपालको सबै खेल हरारे शहरमा हुनेछ ।

नेपालले जिम्बाव्वेसँग पाँच वर्षपछि पहिलो पटक ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१८ मार्चमा जिम्बाव्वेमै भएको विश्वकप छनोटमा नेपालले जिम्बाव्वेसँग खेलेको थियो । त्यसबेला नेपालको ओडीआई मान्यता थिएन । त्यही छनोटमा एसोसिएटतर्फ शीर्ष तीन टिमभित्र परेपछि मात्रै नेपालले पहिलो पटक ओडीआई मान्यता प्राप्त गरेको थियो । २०१८ मा भएको छनोटमा नेपाल जिम्बाव्वेसँग ११६ रनले पराजित भएको थियो ।

अमेरिकासँग भने नेपाल चीर परिचित छ । सन् २०१९–२३ लिग टु साइकलमा नेपालले अमेरिकासँग ६ खेल खेलेको थियो । जसमा नेपालले ३ खेल जितेको थियो भने अमेरिकाले २ खेल जितेको थियो । एक खेल भने बराबरी भएको थियो ।

वेष्ट इन्डिज विश्व विजेता हो । सन् १९७५ र १९७९ का दुई विश्वकप जितेको वेष्ट इन्डिज त्यसबेला सबैभन्दा बलियो टिम थियो । पछिल्लो समय वेष्ट इन्डिज उस्तै टिम रहेन । नेपालले वेष्ट इन्डिजसँग पहिलो पटक ओडीआई खेल खेल्दैछ ।

नेदरल्याण्ड्ससँग नेपालले सन् २०१८ मार्चमा ओडीआई मान्यता प्राप्त गरेपछि त्यही वर्ष अगष्टमा पहिलो ओडीआई शृंखला खेलेको थियो ।

नेदरल्याण्ड्सकै घरेलु मैदानमा खेलिएको उक्त दुई खेलको ऐतिहासिक शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो । नेपालका लागि यो शृंखला धेरै अर्थमा ऐतिहासिक बन्यो । अहिले नेपाली टोली पहिले भन्दा निक्कै बलियो छ । यो अर्थंमा नेपाल सुपर सिक्समा पुग्ने अनुमान धेरैको छ । अहिले नेपाली टोलीमा रोहित पौडेल कप्तान छन् । कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो उत्कृष्ट खेलाडीहरु छन् ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस