२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धरौटी बुझाउन नसकेपछि पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन थुनामा

७ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि नुबझाएका कारण दिपेश पुन थुनामा गएका छन् । रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले बताए । तत्काल धरौटी रकम बुझाउने बाटो नभएको पारिवारिक स्रोतले बताएको छ ।

त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् । न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकील कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकोमा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो । पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएका छन् । सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस