काठमाडौं । अनौठो त त्यति बेला लाग्छ जब आफ्नै सवारीको नम्बर भएको अर्को सवारीपनि आफ्नै नजिक आइपुग्छ । एउटै देशमा एउटै प्रकृतीका सवारीको नम्बर एउटै हुनै सक्दैन ।

जस्तै मोटरसाईकल कुनैकोपनि नम्बर हुबहु दोहोरिन्न । तर काठमाडौंमा भने यस्तो भयो । बुधबार गौशला चोकमा एउटै नम्बरका दुई वटा मोटरसाईकल एकअर्काबीच भेट भयो ।

दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।

एक अर्का एकसाथ नै भेट भए । पछाडीबाट प्रदीपजंग क्षेत्रीले उक्त बाईकको फोटो खिचिदिए ।

त्यसपछि क्षेत्रीले खिचेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिने तस्वीर भाइरल भएपछि अहिले उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि अनुसन्धान थालेको छ ।

कार्यालयका एसपी सञ्जिव शर्माका अनुसार अहिले दुवै मोटरसाइकलको खोजी भइरहेको छ । ‘यातायात व्यवस्था कार्यालयबाट विवरण ल्याएर कसले फट्याइँ गरेको हो भन्ने पत्ता लगाउँछौं’ उहाँले बताउनुभयो ।

गुर्जुधारास्थित यातायात कार्यालय (मोटरसाइकल) का अनुसार तस्वीरको बायाँतर्फ देखिएको बजाजको पल्सर मोटरसाइकलको लागि सो नम्बर जारी भएको हो ।

तर बजाजकै एनएस मोटरसाइकलले पनि सोही नम्बर जडान भएको देखिएकोले तुरुन्त पक्राउ गरी ल्याउन ट्राफिक प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई पनि यसबारे जानकारी दिइएको छ । यो हुनै नसक्ने अवस्था हो ।

कुनै एकले अपराध गरेर फरार भएमा अर्को पर्ने सम्भावना हुन्छ । तर उनीहरु एकसाथ देखिएका कारण मिलेर गैरकानूनी कार्य गर्नपनि यस्तो गरेको हुनसक्छ । प्रहरीले यसलाई गम्भीर रुपमा लिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु